तराई मधेशमा बुधबारदेखि छठपर्व विधिवत सुरु, छठको पहिलोदिन आज ब्रतालुले माछमरुवा नखाने दिन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १३ गते।

तराई मधेशमा बुधबारदेखि छठपर्व विधिवत सुरु भएको छ । पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलोदिन आज ब्रतालुले माछा र कोदो  नखाने दिन हो । यो दिनलाई माछमरुवा बार्ने दिन पनि भनिन्छ ।पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोश्रो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाचौ दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।यस वर्ष छठ पर्वको मुख्य दिन शनिवार परेको छ । शनिवार अस्ताउँदो र आईतबार उदाउँदो सूर्याको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ ।छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *