सुनसरीमा असोज ४ गते सम्मका लागि निषेधाज्ञा थपिए

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ २१ गते।

सुनसरीमा असोज ४ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले कोरोना महामारी कायमै रहेको र संक्रमणदर पनि कायमै रहेको भन्दै यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

विद्यालय सञ्चालन गर्नुपर्ने विषयमा निकै छलफल भएको भए पनि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने तर नगरी नहुने अवस्था भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय गराई सञ्चालन गर्न सक्ने निर्णय गरिएको छ ।

अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्नेरनगराउने, यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा मात्र मनाउन पाउने, सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुवाट आर्थिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र गर्न पाउने भनिएको छ ।

यसै गरी सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ अनिवार्य रूपमा सवारी साधन निसंक्रमित गर्नु पर्नेछ र अन्य तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

भारतीय नाकाहरूबाट आवतजावत गर्न पूर्ण निषेध गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *