अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन २४ गते।
भारी वर्षाका कारण सर्लाहीमा खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।
त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।
बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।
त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ ।