अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २४ गते।
कोभिड–१९ का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ ।
मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो ।
संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।
‘संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ,’ उनले भने, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।’ कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको गुरुङले बताए ।
हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् । ‘मन्दिर खुलेपनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो, भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था भने हुन्छ,’ गुरुङले भने ।