अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।
कास्की जिल्लामा जेठ ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि जेठ ३१ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः समय थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार निषेधाज्ञामा यस अघिको समयमा १ घण्टा थप गरी अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ५ बजे देखि १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् ।
ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पुर्याउन एवं बिक्री वितरण गर्न पाइनेछ । यसपाली बिकास निर्माण जन्य सामाग्रीका पसलहरु ५ देखि ७ बजेसम्म खुल्ने भएका छन् ।
सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन असार ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।