अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २२ गते।
इंग्ल्याण्डवासीहरु अन्ततः लकडाउन मुक्त हुने भएका छन् । गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो ।
तर, संक्रमण दर निरन्तर बढ्दै गएपछि लकडाउन पुनः लम्बिन सक्ने अनुमान धेरैले गर्दै आएका थिए ।
तर,बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १९ जुलाईदेखि इंग्ल्याण्डमा लागू कोभिड सम्बन्धि बाँकी प्रतिवन्ध हटाइने जानकारी दिएसँगै इंग्ल्याण्डमा जारी लकडाउनको अन्त हुने पक्का भएको हो ।
हाल जारी प्रतिबन्धहरु अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने र रेष्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता नियमहरु हटाइने जोन्सनले बताए ।
साथै, हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि १६ महिनापछि हटाइने भएको छ । विवाह, अन्त्येष्टी र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् । स्कुल बबल, ट्राभल र सेल्फ आइसोलेसन बारे छिट्टै अपडेट गरिने प्रधानमन्त्री जोन्सनले जनाए ।