अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन १२ गते।
असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् ।
झडपमा मारिने सबै प्रहरी आसामका भएको आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीट मार्फत जानकारी दिएका छन् ।
क्षेत्रमा सोमबार स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा गोलीसमेत चलेको थियो । सीमा विवादमा दुवै राज्यका मुख्यमन्त्रीहरुबीच केही समय अघिबाट तिक्ततासमेत छाएको छ ।
यो विवादलाई मिलाउन यसअघि भारतको गृहमन्त्रालयले पनि दुवै मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर विवाद समाधानको साटो सीमामा झनै तनाव बढिरहेको छ । विगतका वर्षहरुमा पनि यो क्षेत्रमा तनाव बढेको थियो ।
आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । तर सीमा निश्चित भने भएको छैन । सीमा निश्चित गर्ने प्रयास सन १९९५ देखि नै चल्दै आएको भएपनि यसले पूर्णता भने पाइसकेको छैन । जसका कारण सीमामा विवाद हुँदै आएको हो ।