अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र ९ गते।
मधेस प्रदेशको प्रदेशसभाको बैठक पुनः स्थगित गरिएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी गराएका छन् । मधेस प्रदेशसभाको बैठक स्थगित भएको यो चौथोपटक हो ।
अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो।
फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो। फागुन १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो।