अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १२ गते।
जनकपुरधामबाट गायब भएकी चार वर्षीय बालिकाको चौबीस घण्टाभित्रै प्रहरीले उद्धार गरेको छ ।
अपहरणमा संलग्न ५जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार विहीबार राति सात साढे सात बजेको समयमा बच्चा हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोज तलास गर्दै जाँदा धनुषा जिल्लाको विदेह नगरपालिका–८बाट अपहरित ध्रुब मण्डलकी छोरी सृष्टि मण्डललाई उद्धार गरिएको हो ।
अपहरण कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरिएकोमा थप अनुसन्धान जारी रहेकाले नाम नखुलाइएको एसपी रजौरेले बताए । विदेह नगरपालिकाबाट भारतीय सीमावर्ती क्षेत्रतर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले हवाई फायर गर्दै अपहरणकारीहरुलाई पक्राउ गर्न सफल भएको थियो । भाग्न लागेका अपहरणकारीहरुको समूहलाई चेतावनी स्वरुप पाँच राउण्ड हवाई फायर गर्दै पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी स्रोतको अनुसार विदेह नपा–८का युवकको संलग्नतामा बालिकाको अपहरणपछि अपहरणकारीहरुले परिवारजनसंग फिरौती स्वरुप १५ लाख रुपियाँ माग गरेका थियो । अनुसन्धानका र खोजतलास गर्दै जाँदा अपहरणकारीहरुलाई शुक्रबार बिहान ११ बजे पक्राउ गरी बालिकाको उद्धार गरेको थियो । अपहरणमा संलग्न बच्चा खेलाउँदै गरेकी एक महिला र चार जना पुरुषलाई पक्राउ गरिएको छ । बालिका बस्दै आएको घरमै भाडा लिएर बस्दै आएका अभिशेष दासले बालिका विद्यालयबाट घर फर्किएकै बेला अपहरण गरी लगेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।