अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन ६ गते।
जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएपछि अस्पतालमा ताला लगाएको छ ।
घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।
बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।
शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् ।
केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्य लग्ने प्रयासमा थिए । आफन्तजनले रोकेर कराएपछि स्थानीयहरु जम्मा भएका थिए ।
अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।