अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १ गते।
ओल्के पर्व आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। यो पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइन्छ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । आजका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको छ ।
विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।