अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, आषाढ ३१ गते
जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा रहेको रामजानकी विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाहमण्डपमा इतिहासमै पहिलोपटक तालाबन्दी गरिएको छ ।
टिकट शुल्कलाई लिएर प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र मन्दिर व्यवस्थापनबीच विवाद उत्पन्न भएपछि दुवै संरचना बन्द गरिएका हुन् । जानकी मन्दिर व्यवस्थापनले विवाह मण्डप र संग्रहालय अवलोकनका लागि टिकटको व्यवस्था गर्दै आएको थियो ।
मन्त्री महतोले प्रवेश शुल्क लिनु अनुचित भएको भन्दै टिकट काटिरहेका कर्मचारीबाट टिकट खोसेपछि मन्दिर व्यवस्थापन आक्रोशित बनेको हो । त्यसको विरोधस्वरूप व्यवस्थापन पक्षले शुक्रबारदेखि विवाह मण्डप र संग्रहालयमा तालाबन्दी गरेको जनाएको छ ।
तालाबन्दीका कारण दर्शन तथा अवलोकनका लागि आएका स्वदेशी र विदेशी श्रद्धालु तथा पर्यटक निराश बनेका छन् ।