अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ० ५ गते।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आज महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो।
कोरोना संक्रमण मुक्त हुनका लागि दुईवटा रिपोर्ट नेगेटिभ आउनुपर्ने भएकाले चौथो स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ । १५ दिन अघि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएपछि उपचाररत महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।
तेस्रो रिपोर्ट नेगेटिभ आउनु सुःखद् भए पनि चौथो रिपोर्टपछि मात्र महिलालाई डिस्चार्ज गरिने पोखरेलले बताउनुभयो । ‘कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि हामीले आइसुलेसन वार्डमा राखेर उपचार गराइरहेका थियौ, शारिरिक रुपमा कुनै समस्या नभए पनि दोस्रो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल बसाइ लम्बिएको थियो, तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अब चौथो रिपोर्टकालागि स्वाब पठाउँने तयारी गरेका छौं, चौथो रिपोर्टमा नेगेटिभ आएपछि मात्र संक्रमितलाई डिस्चार्ज गछौं ।’
नेपालमा छैठौं संक्रमित महिलाको रिपोर्ट पोजेटिभ आउँनु सुखद् रहेको अस्पताल विकास समितिका सदस्य सालिकराम शर्माले बताउनुभयो । अहिलेसम्म नेपालमा पहिलो संक्रमित मात्र कोरोना मुक्त भएर घर फर्किएपनि दोस्रो, तेस्रो, चौथो र पाँचौ संक्रमित अहिलेपनि उपचाररत रहेका छन् ।
धौलागिरि अञ्चल अस्पतालमा महिला बाहेक पाँचौ संक्रमित युवतीको समेत उपचार भइरहेको छ । महिला भन्दा केही दिन अघि नै संक्रमण पुष्टी भएर उपचाररत युवतीको रिपोर्ट भने पोजेटिभ आइरहेकाले अस्पताल बसाइ लम्बिएको छ ।