अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता, असार ३० गते
लगातार भइरहेको वर्षाले भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठीको बेल्ही टोलका करिब पचासभन्दा बढी घर डुबानमा परेको छ भने सोही बाढीमा बेल्ही भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।
भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिए । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।