अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ८ गते
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका ८ घर भएका ६८ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
आइतबार दोस्रोपटक पुनः प्लाज्मा थेरापीको तयारी गर्दै गर्दा उनको निधन भएको अस्पतालले जनाएको छ ।
प्रवक्ता सापकोटाले साउन २९ गते पोजेटिभ आएका पुरुषलाई ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी दिए। वीपीकै हेल्प डेस्कबाट भर्नाका लागि रिफर गरिएका ती पुरुषमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएको उनले बताए।
त्यसैगरि उनमा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या रहेको प्रतिष्ठानले जनाएको छ। हाल उनको शव व्यवस्थापनको कार्य भइरहेको प्रवक्ता सापकोटाले बताए।
शनिबार बीपी प्रतिष्ठानमै दोस्रो प्लाज्मा थेरापी गरिएका अर्का पुरुषको पनि निधन भएको थियो। धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ४१ पुगेको छ।