अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर १० गते
६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको अवधीभर यस क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन। निषेधाज्ञाको अवधिमा राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन् ।
बर्दिबासमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए ।