अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २५ गते।
कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि खुल्ने भएको छ ।
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।
चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए ।
चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको उनले बताए ।
यसैगरी चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन ।