अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस ३ गते।
पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरु समेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले उनीहरुलाई दोषी ठहर गर्दै कैद सजाय थप गरेको छ। यसरी कैद सजाय थप गरिएकाहरुमा कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद भुक्तान गरेकाहरु पनि छन्। अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद रेशम चौधरीसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ।
जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् ।