आज गीता जयन्ती पर्व मनाइँदै

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १० गते।

आज वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी गीता जयन्ती मनाइँदै छ ।

पाँच हजार १२७ वर्ष अघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास छ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीका अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन सबै आफन्तविरुद्ध लडाईं गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

गीता मन्दिर स्वयम्भूमा पनि आज श्रीमद्भगवत् गीता वाचन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । यसैगरी विश्व हिन्दू महासङ्घले पनि गीता जयन्तीकै अवसरमा आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको छ ।

गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *