अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, चैत्र २४ गते
निजी विद्यालयहरूले मनपरी रूपमा विद्यार्थी भर्ना नगर्न र चर्को शुल्क नअसुल्न जनकपुरधाम उपमहानगरपालिकाले कडा निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सोमबार एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनु अघि भर्ना नगर्न र तोकिएको भन्दा बढी शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हो ।
उक्त सूचनामा अब नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्नुपर्ने र उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क बाहेक अन्य कुनै पनि शीर्षकमा रकम असुल गर्न नपाइने स्पष्ट पारिएको छ । त्यस्तै, यसअघि अवैध रूपमा असुल गरिएको भर्ना शुल्क सम्बन्धित अभिभावकलाई फिर्ता गर्न पनि पालिकाले निर्देशन दिएको छ । तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।