अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १५ गते।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन र आवेदन फाराम खोलेको छ ।
यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

एक सूचना जारी गर्दै बोर्डले अहिले १० कक्षामा पढिरहेका विद्यार्थीहरूले रजिस्ट्रेसनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् ८ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने जनाएको छ ।
यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो ।