अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता, पौष २० गते।
रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ ।सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।कुटाइबाट १० वर्षिय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताए ।तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरे। ‘धुनिया शिक्षकको कुनै पनि कुरा मान्दैनथे । अटेरी गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउनु भएको हो । कुट्नु भएको छैन’, प्राचार्य बरईले भने ।शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ ।