अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,माघ १४ गते।
अनलाइन मार्केटिङमार्फत सामान पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।बाराको गढीमाई नगरपालिका– ३ पिप्राविर्ता घर भई वीरगञ्ज–१५ ब्रम्हचोक बस्ने २९ वर्षीय रोशन सिंह, भाइ २१ वर्षीय विशाल सिंह, भारत कलकत्ता घर भई वीरगञ्ज– १५ बस्दै आएका २६ वर्षीय सविक भक्त र ब्रम्हचोकका फारुख आलम पक्राउ परेका हुन् । रोशन र बिशाल वीरगञ्ज –१५ बस्ने शम्भु सिंहको छोरा हुन भने सविक उनीहरुकै घरमा डेरा गरेर बस्दै आएका थिए । उनीहरुले फेक्टरी अनलाइन सपिङ क्लब एप्स बनाएका थिए ।एप्समार्फत एप्पल कम्पनीको मोबाइल सस्तोमा उपलब्ध गराउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत मगाइदिने जस्ता झुठा आश्वासन दिन्थे । फेसबुक, वाट्सएप, ट्वीटर र म्यासेन्जर जस्ता सामाजिक सञ्जालहरुबाट त्यस्ता सन्देश दिएर प्रलोभनमा पारी सर्वसाधरणलाई ठगेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले जानकारी दिए ।प्रहरीले अनुसन्धानका क्रममा नक्कली नागरिकताको प्रयोग गरी विभिन्न बैंकहरुमा खाता खोलेर सोही खातामा रकम मगाउने गरेको उनको भनाइ छ । ठगीमा प्रयोग हुने गरेको आवश्यक कागजात र मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।