मोरङमा मदिरामा लठ्ठिएपछि ‘ग्याङ्फाइट’ हुँदा गम्भीर घाइते भएका ४२ वर्षीय विसुनदेव मुखियाको मृत्यु

अनलाईन न्युजपाटी,मोरंग,समाचारदादाता,माघ १६ गते।

मोरङको धनपालथान गाउँपालिका–४ मा मदिरामा लठ्ठिएपछि ‘ग्याङ्फाइट’ हुँदा गम्भीर घाइते भएका ४२ वर्षीय विसुनदेव मुखियाको मृत्यु भएको छ ।मादक पदार्थ सेवन  पछि युवाहरूबीच विवाद उत्पन्न भई गत माघ ४ गते राति धनपालथान–४ स्थित एक होटलबाहिर ‘ग्याङफाइट’ भएको थियो । ग्याङ्फाइटमा दोहोरो झडप हुँदा मुखियासहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका मुखियाको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा सोमबार राति मृत्यु भएको हो । घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शङ्कर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ‘ग्याङ्फाइट’ भएको थियो ।घटनामा विसुनदेव, बलराम र किसुन तथा घटना छुट्याउन गएकी १५ वर्षीया जमुनाकुमारी महतो घाइते भएका थिए । न्यूरोमा उपचाररत बलराम र विसुनदेवमध्ये विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको थियो । गोल्डेन अस्पतालमा उपचाररत विसुनको टाउकोमा सात टाँका लगाइएको थियो ।प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरू हरिओम र धनीरामबीच विवाद शुरु भएको थियो । होटलबाट निस्किएर अघि बढेका उनीहरूले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच ‘ग्याङ्फाइट’ भएको अनुसन्धानबाट खुलेको इन्स्पेक्टर दाहालले बताए । दोहोरो कुटाकुटका क्रममा बाँस र ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।प्रहरीले धनीराम, मणिचन, रामविलास, शङ्कर र हरिओमलाई पक्राउ गरेर घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । उनीहरूको पनि शरीरका विभिन्न भागमा सामान्य चोट रहेका छन् । प्रहरीले घटनामा संलग्न मणिचन, रामविलास, शङ्कर र हरिओम महतो विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मङ्गलबार म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ । ‘ग्याङ्फाइट’ मा संलग्न अरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *