अनलाईन न्युजपाटी,चितवन,समाचारदादाता,फागुन २१ गते।
कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो सङ्ख्या निकै न्यून हुने उनको भनाइ थियो । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन् । एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन् । अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको हो ।