ट्रम्प्ले भने खुशी लग्यो:उत्तर कोरियाली नेता किम जङ-अन लाई सार्वजनिक रूपमा पुन देखिँदा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २१ गते

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई “खुशी” लागेको बताएका छन्। एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त गरेका हुन्। उनले भनेका छन्, “उनी फेरि फर्किएकोमा र स्वस्थ देखिएकोमा म खुशी छु”

करिब तीन हप्ता यता पहिलो पटक शुक्रवार किम सार्वजनिक रूपमा देखिएको विवरण सार्वजनिक भएको थियो। एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए। उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी र हल्लाबीच सोमवार ट्रम्पले किमको अवस्थाबारे आफूलाई “राम्रो ज्ञान भएको” उल्लेख गरे पनि “त्यसबारे कुरा गर्न नसक्ने” भने। उनले भने, “म उनको राम्रो होस् भन्ने कामना गर्छु।”ट्रम्प र किमले पछिल्ला वर्षहरूमा एउटा फरक खालको सम्बन्ध बनाएका छन्। सन् २०१८ यता दुई नेताले तीन पटक भेटवार्ता गरेका छन् र व्यक्तिगत पत्रहरू आदानप्रदान गरेका छन् जसलाई ट्रम्पले “उत्कृष्ट” भन्ने गरेका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले मल उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो। केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम यो-जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए। “मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले,” केसीएनएले भनेको थियो। किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताए र देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्‍याएको योगदानका लागि कम्पनीको उनले प्रशंसा पनि गरेको केसीएनएले उल्लेख गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *