अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते।
पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरि बढाएको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ताले जानकारी दिए ।
पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ताले जानकारी दिए । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा रहने निगमले बताएको छ ।