अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ७ गते।
कोरोना महामारीका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय जनकपुरधाम भोलिदेखि खुल्ने निर्णय भएको छ ।
कार्यालयका निमित्त प्रमुख वीरेन्द्र यादवले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी भीडभाड नहुनेगरी कार्यालयको सेवा सुचारु हुने जानकारी दिए ।
यातायात कार्यालयको सेवा सुचारु भए पनि तत्काल सबै सेवा सञ्चालन नहुने निमित्त प्रमुख यादवले बताए ।
वर्तमान अवस्थालाई ध्यानमा राख्दै तत्काल कार्यालयबाट अस्थायी इजाजत पत्र नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नवीकरण, बाटो इजाजत पत्र, राजस्व दाखिला सेवा, तत्काल नवीकरण नभए जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नवीकरण, प्रयोगात्मक परीक्षा पास भई राजस्व बुझाउन बाँकी सेवाग्राहीको राजस्व बुझाउने सेवा मात्र सुचारु हुने यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।