बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन ३ गते।

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ ।

रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकले जानकारी दिए ।

उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्र्याक स्पिड’ परीक्षण गरिने छ । उनले भने, ‘ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।’

उनले भने, ‘परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदा–जाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।’

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्यायाकमा मान्छे, पशु चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् । परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिएका छन् ।

सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

एक हजार तीन सय सिट क्षमताको यो रेल हाल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ । पछि महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म रेल चलाउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *