अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ४ गते।
आजदेखि सोह्र श्राद्ध शुरु भएको छ ।
चन्द्रमा अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।
सोह् श्राद्धमा प्रतिपदा तिथीदेखि १५ दिन पितृलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा तर्पण र पिण्ड दान गर्ने परम्परा रहेको छ ।
मिथिलामा आजदेखि जमारे औंसीसम्म १५ दिन नजिकको जलाशयमा गई तर्पण गरेर दिवंगत पितृलाई जल अर्पण गर्ने गरिन्छ ।
यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।
दिवंगत पितृको सम्झनामो तर्पर्ण जनकपुरधामस्थित पवित्र सरोवर गंगासागरमा आज बिहानैदेखि भिड लागेको छ । गंगासारमा सयौंको संख्यामा रहेका पुरोहितहरुले मन्त्रउच्चारण गरेर तर्पणको सुरुवात गराएका छन् । मन्त्रउच्चारण गरेवापत पुरोहितले दक्षिणा लिने गरेका छन् ।