अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार १८ गते।
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले आज पनि उच्च वर्षा भइरहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले त्यहाँका नदीहरूमा सतह बढ्न गइ बाढीको जोखिम हुनसक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सप्तकोसी नदीको बहावमा उतारचढाव हुने क्रम सुरु भएको छ । बहाव बेला–बेला बढ्ने र घट्ने भइरहेको हो ।
उच्च हिमाली र पहाडी क्षेत्रमा ठूलो वर्षा भएर सहायक नदीमा समेत बाढी आउँदा सप्तकोसीमा बहाव बढ्ने गरेको छ । पहाडमा वर्षा रोकिँदा नदीको बहाव पनि घट्ने गरेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । तराईमा हुने वर्षाले भने सप्तकोसीको पानीको सतहमा खासै असर नगर्ने बताइएको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा बिहीबार बिहान पानीको बहाव एक लाख १९ हजार क्यूसेक मापन गरिएको थियो । त्यतिबेला कोसी ब्यारेजका २१ वटा ढोका खुला गरियो । तर बेलुका बहाव घटेर एक लाख १८ हजार क्यूसेकमा झर्दा २० वटा मात्रै ढोका खुला गरिएको थियो ।
आज (शुक्रबार) बिहानसम्म आइपुग्दा सप्तकोसीमा पानीको बहाव निक्कै घटेको कन्ट्रोल रुमले जनाएको छ । आज बिहान बहाव एक लाख १४ हजार क्यूसेकमा झरेको छ । कोसी ब्यारेजका १४ वटा मात्रै ढोका खुला गरिएको छ ।
पहाडी क्षेत्रमा पानी परिरहँदा सप्तकोसीमा पानीको बहाव बढ्नसक्ने जनाइएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । ‘सप्तकोसीको बहावमा उतारचढाव कायमै छ । वर्षा पनि निरन्तर भइरहेको छ,’ उनले भने, ‘त्यही भएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको हो ।
रातो बत्तीले पनि खतराको सङ्केत गर्ने भएकाले सबैलाई सावधानी अपनाउन सजिलो हुने गरेको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको छ ।