अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १९ गते।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ ।
पहिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन ।
ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिङबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।