मिथिलाञ्चलमा आजदेखि जितिया पर्वको तयारी सुरु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज १० गते।

आजदेखि मिथिलाञ्चलमा सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै नारीहरुले मनाउने जितिया पर्व सुरु भएको छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । पहिलो दिन नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ ।

त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ ।

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यता छ । यो व्रत मङ्गलबार गर्ने तयारी छ ।

मङ्गलबार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगट्न’ (दर) खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन् ।

यसपालि मंगलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ।

जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहरु समेत गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *