आज भाइटीका पर्व: पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २० गते।

आज यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

यसबर्ष भाई टिकाको उत्तम साईत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।

मिथिलाञ्चलमा दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको दीर्घायुको कामना गर्छन् ।

पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *