अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ ४ गते।
अफगानिस्तानका ठाउँ-ठाउँमा प्रदर्शन भएका छन्।
ब्रिटिस उपनिवेशबाट मुलुक स्वतन्त्र भएको अवसरमा बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भएका थिए। प्रदर्शनकारीहरुले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झन्डा बोकेका थिए। उनीहरूले ‘हाम्रो झन्डा, हाम्रो पहिचान’ लगायत नारा पनि लगाएका थिए।
केही ठाउँमा उनीहरूले तालिबानहरूको सेतो झन्डा निकालेर फालिदिएका थिए। तालिबानहरूले सेतो झन्डा प्रयोग गरिरहेका छन्, उनीहरू अफगानिस्तानको राष्ट्रिय झन्डा प्रयोग गरेका छैनन्।
पूर्वी सहर असाडावादमा प्रदर्शनकारीहरूमाथि तालिबान लडाकुले गोली हानेका छन्।
तालिबान लडाकुहरूले काबुलमा पनि हवाई फायर गरेका थिए।
प्रदर्शनहरू बढ्न थालेपछि तालिबानले स्थानीय इमामहरूलाई सबैलाई एक राख्न आह्वान गरेका छन्।
तालिबानले फेरि सत्ता कब्जा गरेपछि पहिलो पटक हुने शुक्रबारको प्रार्थनाबाट एकताका लागि भन्न तालिबान इमामहरूलाई आह्वान गरेको हो।