अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २८ गते।
तालिबान र अमेरिकाबीच वार्ता गराउन भूमिका खेलेको र दोहामा तालिबानको राजनीतिक कार्यालय राख्न दिएको कतारले तालिबान सरकारसँग कुरा गर्न आफ्नाविदेश मन्त्रीलाई काबुल पठाएको हो।
कतारी विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीले आइतबार काबुलमा तालिबान सरकार अन्तरिम प्रधानमन्त्री मुल्लाह मुहम्मद हसन अखुन्दसहित उच्च अधिकारीलाई भेटेका छन्।
तालिबान सरकारसँग काबुलमा आएर भेटवार्ता गर्ने अल-थानी पहिलो विदेशी मन्त्री हुन्।
कतारी विदेश मन्त्रीले तालिबान सरकारका पदाधिकारीसँग अफगानिस्तानमा मेलमिलाप कायम गर्न सबै पक्षलाई समेटेर जान सुझाव दिएका छन्।
अफगानिस्तानको स्थायित्वलाई चुनौती दिने आतंकवादी समूहसँग लड्नेबारे पनि उनीहरूबीच कुरा भएको कतारको विदेश मन्त्रालयले जनाएको छ।
तालिबान सरकारले भेटवार्ता दुई पक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धमा केन्द्रित भएको बताएको छ।