अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस २० गते।
लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी रहेको भनी नियुक्तपत्र दिएर ठगी गरेको आरोपमा जनकपुरधामबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं- ८ स्थित सीता प्यालेस होटल अगाडीबाट सागर कान्त चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना, संतोष रायकै नामको शपथ ग्रहण पाना, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना, शंकर यादवकै नामको सपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लि।को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक २ वटा, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप लगायतका कागजात र समानहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेको चौधरीले नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको स्वीकारेका छन ।
चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान हुँदै गरेको धनुषा प्रहरीले जनाएको छ ।