काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २८ गते।  

कोरोना सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकामा स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ ।

मङ्गलवार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको आदेश मङ्गलवार मध्यराति १२ बजेदेखि लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपत्यकामा मङ्गलवार मध्यरातबाट लागु हुने गरी काठमाडौँ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति लिन भनिएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदो माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।

शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *