काठमाडौँ उपत्यकाभित्र आज राति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ७ गते। 

काठमाडौँ उपत्यकाभित्र आज राति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रे सहित) जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)लाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बीमा, वित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कूटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू नहुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *