अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ ९ गते।
तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल भवन सरकारले निर्माण गर्ने भएको छ ।
प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो ।
प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती विमानस्थलमा नयाँ टावर टर्मिनल भवन निर्माणार्थ ठेक्का लगाउन प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेको छ ।
ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाजको सिट सङ्ख्या बढ्नुका साथै हवाईयात्रु पनि बढेकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न लागेको प्रवक्ता निरौलाले बताउनुभयो ।