अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २३ गते।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ ।
सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घर बाहिर निस्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो ।
डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।
भूकम्पमा परी ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेको प्रहरीले बताएको छ। घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्।