अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १९ गते।
माओवादी केन्द्रको आज केन्द्रीय समिति बैठक बस्दैछ।
तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।
आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ । २९९ सदस्यीय केन्द्रीय सदस्यहरुमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन हुन पनि बाँकी छ ।