अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ११ गते।
कमला नदीमा आज भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो ।
घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।
कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने जनविश्वास रहेको छ ।
बर्सेनि धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि रहिआएको छ । त्यसैले यसलाई भूत मेला भन्ने गरिन्छ ।
भूत मेला हेर्न कमला नदी किनारमा लाखौंको संख्यामा श्रद्धालुभक्तजन सहभागी भएका छन् ।