अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २१ गते।
लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज एक दिन भगवती जात्राको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
वि.सं. १८७१/७२ तिर बुटवलको जितगढीमा भएको नेपाल-अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंह नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई परास्त गरेको थियो । भगवतीको भाकल गरी युद्धमा गएका सिंहले नेतृत्व गरेको फौज विजयी भएको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ ।
युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । त्यसैको सम्झनामा १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको इतिहास छ ।