अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,असोज १८ गते।
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व धार्मिक विधि पूर्वक सुरु भएको छ ।
आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा विशेष गरी विवाहित महिलाहरुले निराहार व्रत बसी परिवार र सन्तानको सुखशान्तिका लागि कामना गर्छन्।
नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।
व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने छन् ।