अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,असोज २८ गते।
घटस्थापना
नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ।
बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दसैँको पहिलो दिन घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
घटस्थापनाको पूजा विधि
घटस्थापनाको दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा माटो ल्याई पूजाकोठामा विधिपूर्वक जमरा राख्ने गरिन्छ ।
वैदिक विधिद्वारा हुने पूजामा जौलाई अनिवार्य अन्नको रुपमा मान्ने गरिएको छ । जमरा राखिएको पात्रमा गहुँ तथा जौको अंकुरणसँगै घरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । आयुर्वेद शास्त्र अनुसार जौको जमरालाई महाऔषधि मानिएको छ ।
हाम्रो धार्मिक मान्यता अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।
यसरी राखिएको जमरामा हरेक दिन विहान पहिले आफू शुद्ध भएर जमरामा पानी राख्ने गरिन्छ । कलश स्थापित गर्ने ठाउँ मुनी विधिपूर्वक स्वस्तिक चिह्न बनाएर कलश स्थापना गरिन्छ । साथमा घटस्थापना गरेर कलशमा सुपारी फलफूल, दुबो आदि राख्ने गरिन्छ । कलशमा पञ्चरत्न र सिक्काहरु सहित पाँच प्रकारको पत्ताहरु समेत राख्ने गरिन्छ । यसरी राखिएको पातहरु केही बाहिर निस्किएको आकारमा हुनु पर्दछ भने बाहिर निस्किएको पातले कलशलाई छोपेको हुनु पर्दछ ।
यसरी कलशमाथि अक्षताबाट अष्टदल बनाएर त्यसमुनी पानीले भरेको कलश राख्ने गरिन्छ । त्यसमा आँप पिपलको पात राखेर दीप प्रज्वलित गर्दै ईष्टदेवको ध्यान गर्नुपर्दछ । त्यसपछि पहिलो दिन देवी शैलपुत्रीको मन्त्रद्वारा जप गर्ने गरिन्छ ।
यसरी कलशलाई छोपिएको पातको बिर्कोलाई अक्षता अर्थात् चामलले भरिदिने गरिन्छ । त्यसमा एउटा रातो कपडाले बेरिएको नरिवल राखिन्छ । यसरी राखिएको नरिवलको मुख अर्थात् भेट्नाको भाग पूजा गर्ने व्यक्तिको तर्फ भएमा शत्रु बढ्छ भन्ने मान्यता छ । त्यो मुख पूर्वतर्फ भयोभने धननष्ट हुन्छ भन्ने विश्वास छ । त्यसपछि एकपटक सम्पूर्ण देवी देवतालाई विशेष मन्त्रहरुद्वारा आह्वान गर्ने गरिन्छ ।
यसरी कलशको सामु गहुँ र जौको माटोको पात्रमा रोप्ने गरिन्छ । सोही अंकुरित जौलाई पनि नवदूर्गाको स्वरुप मानेर पूजा गर्ने गरिन्छ । हरेक दिन यसरी गरिने जौयुक्त पात्रलाई घामले नदेख्ने ठाउँमा राख्ने गरिन्छ । घाम नदेखिएको यो जमरा विजयादशमीको दिन रातो टीकासँग मिसाएर लगाउने गरिन्छ भने टीकाको पाँचौं दिन पूर्णिमाको दिन यसको विसर्जन गर्ने गरिन्छ ।