अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,असोज २९ गते।
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै छ ।
कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।
ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो ।’ यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।
देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ।