अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज १६ गते।
एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।
भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए ।
जैसवालले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।
त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औं ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए । लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए ।
तर त्यसपछि शिवम दुवे र रिंक सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए । रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए।