राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ ११ गते।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज सातै प्रदेशमा मतदान सुरु भएको छ।

आज बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज निर्वाचन हुन लागेको हो। एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १-१ मतदान स्थल र २-२ मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरूले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली काँग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।

संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्।

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *