अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, फाल्गुण ५ गते
१५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत् रुपमा सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र वैदिक मन्त्रोच्चारणसहित डोला निकालिएसँगै यस वर्षको परिक्रमा औपचारिक रुपमा शुरु भएको हो ।
मिथिलाबिहारी मन्दिरबाट निस्केको डोला परम्परा अनुसार आइतवार सांझ नै हनुमाननगरस्थित हनुमान गढी पुगेका छन् ।
१५ दिने पैदल धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्नेछ ।
कचुरीबाट निस्केको टोली पहिलो दिन साँझ जनकपुरधामस्थित हनुमानगढीमा पुगेर विश्राम गर्ने गर्छ । त्यसपछि जनकपुरधामको सुन्दर सदन मन्दिर बाट किशोरीजी र रामजानकीसहित अन्य मन्दिरका डोलाहरू पनि समाहित गरिन्छन् । हनुमानगढीबाट विधिवत् पूजा–अर्चनापछि मुख्य परिक्रमा अगाडि बढ्ने परम्परा रहेको छ ।
दोश्रो दिन ५ गते मंगलवार कल्याणेश्वर, तेश्रो दिन ६ गते गिरिजास्थान, चौथो दिन ७ गते मटिहानी, पांचौ दिन ८ गते जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रहौं दिन १८ गते जनकपुरधाम आई पुग्नेछ । अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमामा परिणत हुनेछ ।
अन्तगृह परिक्रमा अन्तर्गत जनकपुरधाम नगर क्षेत्रको ५ कोस अर्थात साढे सात किलोमीटर दूरी तय गर्नेछ । पांच कोस यात्रा तय गर्ने भएकाले यस अन्तरगृह परिक्रमालाई पंचकोसी परिक्रमा समेत भन्ने गरिएको छ ।